के हो सेयर बजार ? अमेरिकामा कसरी गर्ने लगानी ? - Taksaria Nepals

Breaking

Post Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Thursday, December 7, 2017

के हो सेयर बजार ? अमेरिकामा कसरी गर्ने लगानी ?


अमेरिकी सेयर बजारमा लगानी गरेर पनि अमेरिकामा रहेकाहरुले फाईदा लिन सकिन्छ वा बिजनेशजस्तै सेयर बजार पनि लगानीको राम्रो क्षेत्र हो भन्दा धेरै अमेरिकाबासी नेपालीहरुले सेयर बजारको विषयमा जानकारी नै नभएको जिज्ञासा व्यक्त गर्नुभयो ।
पछिल्लो समय सेयर बजार (स्टक मार्केट) पनि लगानीको राम्रो क्षेत्रको रुपमा विश्वभर उदाईरहेको अवस्थामा यो बजारको विषयमा सामान्य जानकारीमात्र पाएमा पनि झिनो रकमबाट लगानीको प्रतिफलसँगै अनुभव पनि बटुल्न सकिन्छ भन्ने जानकारी पछि अमेरिकामा रहेका धेरै नेपालीहरुले लगानीको चासो राखेको पाइयो ।
लगानी कसरी गर्ने भन्ने विषयमा यस अगाडि नै सेयरमा लगानी गरेर यसरी मालामाल कमाउन सकिन्छ अमेरिकामा चर्चा भए पनि सेयर बजारको विषयमा सामान्य जानकारी समेत नभएकाहरुकाको लागि अति सामान्य विषयहरु यहाँ प्रस्तुत गरिएको छ ।
विशेषगरी लगानी गर्ने तरिका र प्रविधि फरक भएपनि नेपाल र अमेरिकामा मात्र नभएर विश्वभर सेयर बजारको परिभाषा एउटै हो । अर्थात् तपाईले नेपालमा बसेर नेपाली सेयर बजारमा गरेपनि अमेरिका बसेर अमेरिकी सेयर बजारमा लगानी गर ेपनि त्यसको प्रकृति एउटै हो । सेयर (स्टक) बजारमा एकदमै नयाँ हुनुहुन्छ वा यो विषयमा यो भन्दा अगाडि सुन्नु नै भएको थिएन भने आउनुहोस् सेयर बजारको विषयमा यी सामान्य जानकारी लिउँ ।
सेयर के हो ?
तपाईहरुलाई जानकारी नै छ कुनै पनि ठूलो कम्पनी ज्ञसंञ्चालन गर्नको लागि सानो पुँजीले पुग्दैन । दुई चार जनाको पैसाले मात्रै पनि नपुग्न सक्छ । वा चलिरहेको कम्पनीलाई क्षमताबृद्धि (अपग्रेड) गर्नुपरो, कुनै नयाँ योजना ल्याउनुपरो त्यसको लागि पैसा पर्याप्त नहुन पनि सक्छ । उदाहरणको लागि तपाई हामी मिलेर एउटा ठूलो ग्यास स्टेशन खरिद गर्न वा निर्माण गर्न खोजेको आफूसँग भएको पैसाले छेउ पनि भेटेन साथीभाई छर–छिमेकीबाट पैसा उठाउनुपर्यो भने त्यसको एउटा मापदण्ड बनाईन्छ । र, स्टोरको पुजी र स्वामित्व पनि बाँडफाँड गरिन्छ ।
यसरी कम्पनीमा पैसा र स्वामित्वलाई धेरै इकाइमा विभाजन गरि लगानीकर्ताबाट पैसा उठाउने व्यवस्थित र आधिकारीक प्रक्रिया नै स्टक (सेयर) हो । कम्पनीको पुँजीको विभाजित इकाइको बनाईने दस्तावेज नै सेयर प्रमाण हो । कम्पनी सुरु गर्नेहरु र सञ्चालन भईसकेपछि सर्वसाधरणहरुसँग पैसा उठाईने सेयरको प्रकार फरक फरक हुनसक्छ । सेयरलाई नेपालीमा धितोपत्र पनि भनिन्छ । नेपालमा गत वर्षबाट मात्रै हटाईयो नत्र यो कागजमै हुन्थ्यो अमेरिकामा भने डिजिटल छ । निष्कर्षमा तपाईले सेयर लिनु भनेको त्यो कम्पनीको स्वामित्व लिनु हो । सानो वा ठूलो हिस्सा अनुसार कम्पनीको स्वामित्व धारण गर्नु नै सेयर खरिद गर्नु हो ।
सेयर बजार भनेको के हो ?
माथि दस्तावेजको बारेमा कुराकानी गरियो । यस्तो दस्तावेजको किनबेच हुन्छ । यो किनबेच हुने बजारलाई चाँही सेयर बजार भनिन्छ । (नेपालमा तरकारीको किनबेच हुने तरकारी बजार, अमेरिकामा ग्रोसरी स्टोर भनेजस्तै) बजार भनेपछि बजारमा कसरी किनबेच हुन्छ भन्ने त सबैलाई जानकारी नै छ ।
तपाईसँग भएको कम्पनीको दस्तावेज तपाईलाई बिक्री गर्न मन लाग्यो अझ अर्को अर्थमा तपाईलाई पैसाको आवश्यक पर्यो, कम्पनी मन परेन वा कम्पनीले धेरै नाफा गरेर निकै ठूलो मुल्यवान कम्पनी बन्यो र सेयरको माग ह्वात्तै बढेर भाउ निकै उच्च भयो नाफा खान मन लाग्यो वा अरु केही कारणले तपाईले आफूसंग भएको हिस्सा अरुलाई दिन मन लाग्यो भने यस्तो दस्तावेजको खरिद विक्री हुने बजार नै सेयर बजार हो ।
यस्तो खरिद विक्री गर्न सघाउने कम्पनीहरु छन् उदाहरणको लागि अमेरिकामा न्यूयोर्क स्टक एक्सचेन्जलगायतका छन् भने नेपालमा नेपाल स्टक एक्सचेन्ज । विभिन्न कम्पनीको तपाईहामी जस्तै सर्वसाधरणसँग भएको लगानी दस्तावेजको तथ्याङ्क यस्तो एक्सचेन्ज कम्पनीले राख्छन् । र, कारोबार समयमा सेयर कारोबार गराउँछन् । अमेरिकामा साताको पाँचदिन सोमबारदेखि शुक्रबारसम्म ९ः३० बजेविहानदेखि साँझ ४ बजेसम्म सेयर कारोबार हुन्छ ।
ब्रोकर भनेको के हो ?
नेपालमा स्टक ब्रोकर भनेको सुन्नुभएको होला जसलाई धितोपत्र व्यवसायी पनि भनिन्छ । ठेट नेपालीमा दलाल भनेको पनि सुन्नुभएकै होला । लगानीकर्ता र कम्पनीबीचको पुलको काम गर्ने निकायलाई ब्रोकर भनिन्छ । जस्तो तपाईले अमेरिकामा घर कन्दा सिधै किन्ने र बेच्नेले कारोबार गर्न नपाएको जस्तै सेयर बजारमा पनि मध्यस्तकर्ताको आवश्यकता पर्छ त्यो काम गर्ने निकाय स्टक ब्रोकर हो । अब त कुरो बुझ्नुभयो होला मध्यस्तकर्ताबिना तपाईले सीधै सेयरको कारोबार गर्न पाउनुहुने छैन ।
साधारण सेयर (आईपीओ) भनेको के हो ?
मानौं तपाईहरु केही व्यक्ति मिलेर कुनै एक कम्पनीको स्थापना गर्नुभयो तर पैसाले पुगेन भने निश्चित मापदण्डको आधारमा सर्वसाधरणबाट पैसा संकलन गर्न पाउनुहुने छ । यसरी सर्वसाधरणबाट पैसा संकलन गर्न पहिलोपटक जारी गरिने प्राथमिक सेयर साधारण नै सेयर हो । पहिलोपटक सार्वजनिक गरिने सेयर साधारण सेयर हो भने त्यसपछि कारोबार हुने सेयर दोस्रो बजारको सेयर हो ।
सेयरमा लगानी गर्ने वित्तिकै फाईदा हुन्छ ?
कुनै ज्ञारेन्टी हुँदैन । त्यसैले तपाईसँग जगेडा पैसा मात्रै सेयर बजारमा लगानी गर्नुहोस् । भनेको कम्तीमा छ महिना एक वर्षसम्म आवश्यक पर्दैन भन्ने लागेको पैसा मात्र सेयर बजारमा लगानी गर्ने हो । किनभने सेयर बजारमा गरेको लगानी आजको भोलि ह्वात्तै बढ्दैन यसको प्रतिफलको लागि केही समय कुनुपर्ने हुन्छ । ऋण लिएर सेयरमा लगानी गर्नुभएको हो भने थोरै फाईदा भएको बेलामा बेचिदिनु राम्रो हुन्छ तर ऋण लिएर सेयरमा लगानी गर्नु बुद्धिमानी होईन । कतिपय अवस्थामा कम्पनी घाटामा पनि जानसक्छ ।
सेयरमा लगानी गरेवापत सेयरधनीहरुले प्रत्यके वर्ष कम्पनीको वित्तीय कार्य सम्पादन वा मुनाफाको आधारमा लाभांश प्राप्त गर्ने गर्दछन् । कुनै पनि कम्पनीले गरेको व्यवसायबाट नाफा वा घाटा हुन्छ । आफुले गरेको लगानीको अनुपातमा उक्त घाटा वा नाफा दुवैको हिस्सेदार हुन मञ्जुर भई गरिएको लगानीको अंश सेयर हो त्यसैले तपाई कम्पनीको नाफाको मात्र होईन घाटाको पनि उत्तिकै हिस्सेदार हुनुहुने छ । मैले २० डलरमा किनेको अहिले ५ डलर भयो यो अन्याय भयो भनेर तपाईले कही कतै गुनासो गर्ने निकाय हुँदैन किनभने २० को ४० हुँदा पनि तपाईकै हो र ५ डलर हुँदा पनि ।
सुरक्षित हुन कसरी गर्ने लगानी ?
पहिला तपाईले सेयर किन्न लागेको (लगानी गर्न लागेको) कम्पनीको सम्पूर्ण विषयमा जानकारी लिनुहोस । वित्तीय, संस्थागत तथा बजार अवस्थासहित सम्पूर्ण बित्तीय अवस्था हेर्नुहोस । अमेरिकामा तीन तीन महिनामा कम्पनीहरुले वित्तीय विवरण प्रकाशित गर्छन् । नाफा घटेको, प्रति सेयर आम्दानी घटेको कम्पनीको सेयर खदि गर्नु अगाडी सोच्नुहोस् ।
अर्कोकुरा कुनै कम्पनीको सेयर एक्कासी उच्च विन्दुमा पुगेको छ भने पनि त्यो अवस्थामा सेयर नकिन्नुहोस किनभने संस्तोमा सेयर किनेकाहरुले बेचिरहेका हुन्छन् र माग भन्दा आपूर्ति धेरै भएपछि अर्थसास्त्रको सामान्य सिद्धान्तअनुसार नै मुल्यमा गिरावट आउँछ नै । सस्तोमा सेयर किनेर बसेकाहरुले भाऊ बढेको बेलामा बेच्छन् भन्ने कुरा सेयर बजारमा आफूले पनि गर्ने र अरुले पनि गर्छन् भन्ने विर्षन भएन ।
दिर्घकालीन सोच
आजको भोलि दोब्बर फाईदा हुन्छ भनेर हैन, कम्तिमा ६ महिना एक वर्षको लागि लगानी गर्नुहोस् । कारोबार गर्नेहरु थोरै मुल्य तलमाथि हुँदा पनि आत्तिएर सेयर बिक्री गरेको हुन्छन् । तर लगानीकर्ताको लागि एक दिनको कारोबारमा तलमाथि हुनु ठूलो कुरो होईन । उदाहरणको लागि मैले हालै करिब २५ डलर प्रतिसेयरमा किनेको रोकु टिभीको सेयर मुल्य घटेर १९ डलरमा बेच्दा त्यसको केही दिनमै मुल्य उकालो लागेर ५० भन्दा माथि पुग्यो । यसरी लगानीसंगै अनुभवले पनि तपाईलाई राम्रो खेलाडी बनाउने छ ।
लगानीको विविधिकरण
यो निकै महत्वपूर्ण विषय हो । सेयर लगानीबाटै अर्बपति बनेका अमेरिकी लगानीकर्ता वारेन बफेटको नाम त कतिले सुन्नुभएकै होला । उनको लगानीको एउटै मन्त्र भनेको लगानी विविधिकरण हो । यसले तपाईको सेयर लगानी एउटा घाटामा गएपनि अर्कोले धान्न सक्छ त्यसैले सबै पैसा एउटै कम्पनीमा हाल्नुभयो भने त्यो कम्पनी डुब्यो भने तपाई पनि डुब्नुहुने छ । त्यसैले सकेसम्म धेरैवटा कम्पनीको सेयर खरिद गर्नुहोस् जसले एउटाको घाटा अर्कोले पूर्ति गर्न सकोस् ।
कतिखेर किन्ने सेयर ?
कसैले मलाई कतिखेर सेयर किन्ने भनेर सोध्यो भने मेरो सिधा जवाफ भनेको सबैभन्दा घटेको समयमा किन्नु भन्ने हो । सबैभन्दा न्यून विन्दुबाट सेयर किन्नुभयो भने तपाईलाई धेरै फाईदा हुने छ । त्यसैले सबैसमय उच्च मुल्य भएको सेयर किन्नुभन्दा औषत रुपमा कम भएको तर कालान्तरमा फाईदा हुने कम्पनी छानेर सेयर किन्नुहोस् । त्यसैले धेरै महत्वकांक्षीभएर सेयर किन्नुभन्दा अध्ययन गरेर सेयर किन्नुभयो भने तपाई साच्चिकै सफल लगानीकर्ता बन्न सक्नुहुने छ ।
अत्यमा,
अमेरिकाको सेयर बजार एकदमै संवेदनशिल छ । यहाँको कम्पनीहरुको सेयर मुल्यमा निकै उतारचढाव आईरहन्छ । त्यसैले तपाईले लगानीगरेको कम्पनीको विषयमा संधै सम्पर्कमा रहनुहोस अर्थात कम्पनीको विषयमा अध्ययन गरिरहनुहोस् । तपाईले लगानी गरिसकेपछि त्यो कम्पनी तपाईको पनि हो त्यसैले आफ्नै कम्पनीजस्तो गरी नजिकबाट नियाल्नुहोस् । कम्पनीको कतिपय खराब निर्णयको कारण एकै दिनमा सेयर बजारमा टाट पल्टिन पनि बेर लाग्दैन भने करोडपति हुन पनि । जस्तो अमेजोनको सेयर मुल्य दुई÷तीन महिनाको बीचमा करिब ४ सयले बढेकोबाट पनि तपाईले थाहा पाउनसक्नुहुने छ यसबजारमा लगानीको फाईदाको विषयमा ।
तर सबै कम्पनी अमेजोनजस्तो छैन त्यसैले तपाईले कुन कम्पनीमा लगानी गर्नुहुँदै छ त्यसले भविष्य निर्धारण गर्दछ । बुद्धि पर्याइएन, सुरक्षित सेयरमा लगानी गरिएन भने त्यसबाट कंगाल पनि बन्नुपर्ने हुनसक्छ । तपाई निकै नै नयाँ हुनुहुन्छ भने सरकारी बण्डहरु हुन्छ त्यसमा पनि लगानी गर्न सक्नुहुने । बण्डहरुको लगानी घाटामा जाँदैन । सेयर बजारको विषयमा सिक्नको लागि थोरै लगानीबाट सुरु गर्नुहोस । केही निःशुल्क सेयर कारोबार सिकाउने एपहरु पनि छन् । ती एपहरुपनि डाउनलोड गर्नुहोस । सिक्नुहोस, लगानी गर्नुहोस आफैं मालिक बन्नुहोस् । सबैलाई शुभकामना ।

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here